सुदुरपश्चिमाञ्चलमा दुई सातामा चोरीका ३१ मोटरसाइकल बरामद
४ आश्विन, धनगडि । सुदुरपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरीले दुई सातामा ३१ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ । सुदूरपश्चिमका विभिन्न ठाउँबाट उक्त चोरीका मोटरसाइकल बरामद गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती चोरीका मोटसाइकल गएको भदौ १५ यता बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकल मध्ये कञ्चनपुरबाट ६ वटा, २ वटा पहाडी क्षेत्र र बाँकी सबै कैलालीबाट बरामद गरिएको क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए । उनले सुदूरपश्चिममा प्रहरीले थालेको ‘अप्रेसन क्लिन स्विप’ अभियानअन्तर्गत ट्राफिक प्रहरीले पनि त्यही अनुरप आफ्नो गतिविधि सञ्चालन गरी धमाधम चोरीका मोटरसाइकल र अन्य सवारीसाधन नियन्त्रणमा लिन थालेको जानकारी दिए । यसअघि ट्राफिक प्रहरीले ८८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिलामी बिक्रीका लागि कैलाली भन्सार कार्यालयलाई बुझाएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा तराईका कैलाली र कञ्चनपुरमा चोरीका मोटरसाइकल चलाउनेको संख्या धेरै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
खुला सीमाका कारण र ग्रामीण भेगमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा चोरीका मोटरसाइकल खरिदबिक्रिका साथै प्रयोग गर्नेको बिगबिगी रहेको ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । संविधानसभा सदस्य निर्वाचन र ट्राफिक व्यवस्थापन गर्न चोरीका सवारीसाधन नियन्त्रणमा लिने र अन्य सवारीसाधनलाई व्यवस्थित गर्न कार्यालयबाट विभिन्न कामकारवाही थालिएको प्रहरी उपरीक्षक बस्यालले बताए । बरामद गरिएका चोरी मोटरसाइकलको मूल्यांकन गरी केही दिनभित्रै लिलाम बिक्री लागि कैलाली भन्सार कार्यालयलाई बुझाइने बस्यालले बताए ।
0 comments
Write Down Your Responses